बालेनलाई बादलको प्रश्न : ‘राष्ट्रिय आत्मसमर्पण हो कि राष्ट्र स्वाभिमान ?’

काठमाडौं, २७ जेठ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विवादास्पद अभिव्यक्तिबारे गम्भीर प्रश्न उठाउँदै त्यसको राजनीतिक सन्देश स्पष्ट पार्न माग गर्नुभएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले संसदमा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्तिले राष्ट्रिय राजनीति र संसदमा गम्भीर संकट उत्पन्न गरेको बताउनुभयो।

“राजनीतिक रूपमा यसको सन्देश के हो ? राष्ट्रिय आत्मसमर्पण हो कि राष्ट्र स्वाभिमान ? यो प्रश्न अहिले संकटको रूपमा उपस्थित भएको छ,” उहाँले भन्नुभयो।

नेता बादलले उक्त विवाद समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने बताउनुभयो। साथै सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत प्रधानमन्त्रीलाई आफ्नो भनाइ सच्याउन आग्रह गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको आरोप लगाउँदै संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो। “प्रधानमन्त्रीको राष्ट्रविरोधी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ। त्यो नहट्दासम्म संसद्को कारबाही सहज रूपमा अघि बढ्न सक्दैन,” उहाँले चेतावनी दिनुभयो।

नेता बादलले देशको स्वाधीनता, राष्ट्रियता र सार्वभौमसत्ताको विषय कुनै राजनीतिक दलको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा सरोकार भएको उल्लेख गर्दै यस विषयमा कुनै सम्झौता हुन नसक्ने बताउनुभयो।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच बढ्दो विवादका कारण संसदको गतिरोध अझै कायम रहेको छ भने विपक्षी दलहरूले उक्त भनाइ फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्नुपर्ने अडान दोहोर्याउँदै आएका छन्।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १७ : ३३  बजे