सीमाका विषयमा नेपाली कहिल्यै विभाजित भएका थिएनौं : सांसद प्रमेश हमाल

काठमाडौं, २७ जेठ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमसत्ताका विषयमा नेपालीहरू पहिलो पटक विभाजित भएर संसदमा छलफल गर्न बाध्य भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले नेपालको भू–अखण्डता र सीमासम्बन्धी विषयमा सदनमा देखिएको विवादले गम्भीर परिस्थिति सिर्जना गरेको बताउनुभयो।

“आज हामी यहाँ हाम्रो भू–अखण्डता र सीमाका विषयमा छलफल गर्न बाध्य भएका छौं। अझ दुःखको कुरा, विभाजित भएर छलफल गर्न बाध्य भएका छौं,” उहाँले भन्नुभयो, “नेपाल र नेपालीहरू अहिलेसम्म कहिल्यै पनि सीमा, राष्ट्रियता, सार्वभौमिकता र स्वाभिमानका विषयमा विभाजित भएका थिएनौं।”

सांसद हमालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभाको रोष्ट्रमबाट दिएको अभिव्यक्तिका कारण वर्तमान विवाद उत्पन्न भएको दाबी गर्नुभयो। उहाँले प्रधानमन्त्रीको उक्त भनाइ नेपालको भू–अखण्डता र राष्ट्रिय हितविपरीत रहेको आरोप लगाउनुभयो।

उहाँले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिका लागि नेपाली जनतासँग माफी माग्नुपर्ने तथा संसदमा व्यक्त गरिएको भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसमेत गर्नुभयो।

सांसद हमालले राष्ट्रियता र सीमासम्बन्धी विषय कुनै दल वा समूहको नभई सम्पूर्ण नेपालीको साझा सरोकारको विषय भएको उल्लेख गर्दै यस्ता संवेदनशील विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच विवाद चर्किँदै जाँदा संसदको गतिरोध समेत लम्बिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १७ : ४८  बजे