मनाङ, कात्तिक ५ । मनाङस्थित गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक सम्पर्कविहीन भएका छन्।
डिस्याङ गाउँपालिका–६ मा पर्ने गंगापूर्ण हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी दुई पुरुष पर्वतारोही बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्।
काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली गाइडसहित उनीहरू भदौ २७ गते गंगापूर्ण हिमाल आरोहणका लागि गएका थिए। उनीहरूले असोज २४ गतेदेखि आरोहण सुरु गरेका थिए। सँगै गएका गाइडले असोज २९ गतेदेखि दुवै जना सम्पर्कविहीन भएको जानकारी काठमाडौंस्थित कम्पनीलाई दिएपछि घटना सार्वजनिक भएको हो।
७ हजार ४५५ मिटर अग्लो गंगापूर्ण हिमालमा आरोहणका क्रममा उनीहरू ७ हजार ५० मिटरको उचाइबाट सम्पर्कविहीन भएका हुन्। उनीहरूको खोजीका लागि हेलिकोप्टरसमेत परिचालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परे पनि दुवै जना भेटिएका छैनन्।
जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख कोपिला चुडालले सम्पर्कविहीन जापानी आरोहीको खोजी जारी रहे पनि अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न नसकेको जानकारी दिनुभएको छ।
प्रहरीका अनुसार नेपालस्थित जापानी राजदूतावास, कस्मो एडभेन्चर कम्पनी र प्रहरी मिलेर खोजी कार्य जारी राखेका छन्। बेपत्ता आरोहीका परिवारलाई समेत घटनाबारे जानकारी गराइएको छ।












प्रतिक्रिया