काठमाडौं, कात्तिक ५ । भारतको दिल्लीमा एक साताअघि प्रदर्शनका क्रममा पक्राउ परेका ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का दुई नेता रिहा भएका छन्।
मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग्दै प्रदर्शन गरेका सीजेपीका प्रमुख प्रवक्ता सौरभ दास र सहसंयोजक आशुतोष रांका बुधबार जेलमुक्त भएका हुन्।
दिल्लीको जन्तरमन्तरस्थित निषेधित प्रदर्शनस्थलमा प्रवेश गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। विशेष कार्यकारी मजिस्ट्रेटको अदालतले रिहाइको आदेश दिएपछि दुवै जना तिहाड जेलबाट छुटेका हुन्।
बीबीसी हिन्दीका अनुसार रिहा भएपछि उनीहरूले आफूहरूले कुनै गलत काम नगरेको प्रतिक्रिया दिएका छन्।
भारतको निर्वाचन आयोगले सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै सीजेपीका समर्थकहरूले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागिरहेका छन्। तर, निर्वाचन आयोगले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।
‘कक्रोच जनता पार्टी’ सन् २०२६ को मे महिनामा इन्टरनेटमा सुरु भएको व्यङ्ग्यात्मक अभियानबाट विकसित भएको हो। भारतका प्रधानन्यायाधीशले बेरोजगार युवालाई ‘कक्रोच’ अर्थात् साङ्लासँग तुलना गरेपछि यो अभियान सुरु भएको थियो।












प्रतिक्रिया