काठमाडौँ, २७ जेठ । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) ले दर्शकका लागि विशेष अफर सार्वजनिक गरेको छ।
डीजीओले मोबाइल प्रयोगकर्ताका लागि मात्र ५४९ रुपैयाँमा ‘मोबाइल पास’ उपलब्ध गराउने घोषणा गरेको हो। उक्त पासमार्फत दर्शकहरूले विश्वकपका सबै १०४ खेलहरू आफ्नै मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन्।
कम्पनीका अनुसार दर्शकहरूले नेपाली कमेन्टरीसहित १०८० पी फुल एचडी गुणस्तरमा खेलहरूको अनुभव लिन सक्नेछन्। साथै, आवश्यकताअनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्ने सुविधा पनि उपलब्ध रहनेछ।
डीजीओ एपमार्फत सहज रूपमा खरिद गर्न मिल्ने यो पासले प्रयोगकर्तालाई झन्झटमुक्त सेवा प्रदान गर्ने कम्पनीको दाबी छ। केही क्लिकमै पास सक्रिय गर्न सकिने र आधिकारिक प्लेटफर्मबाट सुरक्षित रूपमा सेवा लिन सकिने जनाइएको छ।
डीजीओका प्रवक्ताका अनुसार नेपाली दर्शकलाई गुणस्तरीय र विश्वसनीय स्ट्रिमिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो। उहाँले दर्शकहरूलाई अनधिकृत वा शंकास्पद लिंकहरूबाट टाढा रहन आग्रह गर्दै आधिकारिक एप प्रयोग गर्न सुझाव दिनुभयो।
यसैबीच, कम्पनीले अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा अनधिकृत एपहरूप्रति सचेत रहन आग्रह गरेको छ। यस्ता प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम निम्त्याउन सक्ने भन्दै आधिकारिक माध्यम प्रयोग गर्न सुझाव दिइएको छ।
डीजीओले यो अफरमार्फत नेपालका फुटबल प्रेमीलाई सहज, सुरक्षित र किफायती रूपमा विश्वकपको रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।








प्रतिक्रिया