ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ, विधानले ५ वर्ष नभई अर्को अध्यक्ष बनाउने परिकल्पना गरेको छैन : महेश बस्नेत

काठमाडौं, २० जेठ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओली नै रहने बताउनुभयो । पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला कार्यक्रम स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘पुस ३ गते हामीले केपी शर्मा ओलीजीलाई शानदार ढङ्गले महाधिवेशन सम्पन्न गरेका छौं । अब ५ वर्ष नभईकन हाम्रो विधानले अध्यक्ष अर्को बनाउने भन्ने परिकल्पना गरेको छैन । चुनावको हारको जिम्मेवारी लिएर हामी समीक्षा गर्दछौँ, यत्रो आन्तरिक छलफल गरिरहेका छौं, बैठक बसिरहेका छौं, हामीले कार्यदल बनाएर विशेष गरेर नीति निर्माणमा, सङ्गठन निर्माणमा, संरचनागत विषयवस्तुमा के–के सुधार गर्नुपर्छ पार्टीले गर्छ ।’

उहाँले पार्टी र अध्यक्ष ओलीमाथि चौतर्फी हमला भइरहेको भन्दै ओलीले नै पार्टीलाई पुरानै अवस्थामा पुर्याउने जिकिर गर्नुभयो । त्यस्तै उहाँले पार्टी अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री बालेन राष्ट्रवादी नेता नभएको भन्दै कुनै तुलना नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बालेन राष्ट्रवादी होइन, केपी ओली राष्ट्रवादी हो। बालेन लोकतन्त्र विरोधी, अधिनायकवादी र निरङ्कुश शासक हो भने केपी ओली लोकतन्त्रवादी शासक हो, लोकतन्त्रको लागि १४ वर्ष जेल बसेको मान्छे हो । केपी ओली समृद्ध नेपाल सुखी नेपालीको एउटा अभियन्ता, विकासको अभियन्ता हो ।’

उहाँले बालेनले अहिले विकास कहाँ पुर्याए ? महँगी कहाँ पुगेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले थप्नुभयो,‘बालेन गरिबमारा नीतिको पक्षमा र दलाल नोकरशाही पुँजीपतिको पक्षधर म होइन भनेर स्वर्णिम वाग्लेजीले भन्नुभएको थियो, बालेनजी चाहिँ त्यसको पक्षपोषक हो भन्ने कुरा देखिन्छ र स्वर्णिम वाग्लेको बजेटले पनि दलाल नोकरशाही पूँजीपतिहरुलाई सपोर्ट गरेको छ ।’

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  १९ : ०१  बजे