काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति उठेका गम्भीर प्रश्नहरूमा सरकार मौन बसेको भन्दै आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अघिल्ला घटनामा तत्काल प्रतिक्रिया दिने तर अर्थमन्त्रीसम्बन्धी विवादमा सबै पक्ष मौन रहने प्रवृत्तिप्रति प्रश्न उठाउनुभयो।
उहाँले रोष्ट्रमबाटै प्रश्न गर्दै भन्नुभयो, “हिजो मन्त्रीको बारेमा प्रश्न उठ्दा सबै आगो भए, आज अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठ्दा सबै बरफ किन ?”
अर्थमन्त्री वाग्ले करका दर हेरफेर र आर्थिक विधेयकसम्बन्धी विवादमा परेका छन्। जेठ १५ गते संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक विधेयकमा केही अस्पष्टता र त्रुटि रहेको भन्दै जेठ १७ गते सच्याउनुपर्ने भन्दै संसद् सचिवालयमा निवेदन दिइएको थियो।
तर, संसद् नियमावलीअनुसार विधेयक संशोधन प्रक्रिया औपचारिक रूपमा सुरु नै नभएको अवस्थामा त्रुटि सच्याउने भन्दै मन्त्रालयबाट पत्राचार भएको विषयमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्।
प्रतिनिधिसभा नियमावली अनुसार विधेयक प्रस्तुत, छलफल र संशोधनका लागि स्पष्ट प्रक्रिया तय गरिएको हुन्छ। संशोधन प्रस्ताव दर्ता गर्ने चरणसम्म विधेयक नपुगेको अवस्थामा गरिएको त्रुटि सुधारको कानुनी आधार के हो भन्ने प्रश्न विपक्षीहरूले उठाएका छन्।
यस विषयमा अर्थमन्त्री वाग्लेले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिनुभएको छैन।
कांग्रेसले भने अर्थमन्त्रीसम्बन्धी विवादमा सरकारको मौनतालाई “दोहोरो मापदण्ड” भन्दै आलोचना गरेको छ।








प्रतिक्रिया