तुलसालाई हत्कडीसहित अदालत लगियो, थुनामा राख्ने वा तारेखमा छोड्नेबारे आदेश आउने

काठमाडौं, २१ जेठ । तुलसा कलेक्सन भनेर चिनिने टिकटकर तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुर पुर्याइएको छ । न्यायाधीशले उनलाई थुनामा राखेरै अनुसन्धान गर्ने वा धरौटीमा छोड्ने निर्णय लिनेछन् । अधिकारीको बयानपछि जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा हिजोबाट थुनछेक बहस सुरू भएको हो ।

हिजो बहस नसकिएकाले तुलसालाई हिरासतमै पठाएर आज पनि सोही इजलासमा सुनवाइ गरिँदैछ । तुलसालाई प्रहरीको भ्यानमा राखेर अदालत पुर्याइँदा उनले अनुहारमा मास्क लगाएकी थिइन् । प्रहरीवृत्त सातदोबाटोको थुनुवा पोशाक तथा हातमा हत्कडी लगाइएको थियो । तुलसाले कपाल भने आकर्षक तरिकाले बाटेकी थिइन् ।

आज सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि प्रतिवादी अधिकारीका कानून व्यवसायीले बहस गर्नेछन् । आज बहस सकियो भने थुनछेक आदेश आउनेछ । तुलसाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।

एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरूद्ध गत चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । तुलसाको २१ करोडको सम्पत्ति खुलेको छैन ।

२०८२ भदौदेखि फरार भएकू तुलसा चीन हुँदै थाइल्यान्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी हुन् । उनलाई शनिबार बेलुका काठमाडौं ल्याइएको थियो । तुलसाले आफूमाथि लगाइएका आरोप अस्वीकार गरिरहेकी छन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार  ११ : १२  बजे