‘बेवारिसे’ सरकारी गाडीको रहस्य : मन्त्रालयदेखि विभागसम्म कतै छैन अभिलेख
काठमाडौं, २७ जेठ । नेपाल सरकारका कुनै पनि निकायको आधिकारिक अभिलेखमा नभेटिएको सरकारी नम्बर प्लेट भएको एउटा गाडी महिनौँदेखि बीर अस्पतालको पार्किङमा राखिएको पाइएको छ । बा १ झ ६९७१ नम्बरको प्राडो गाडी केही समयअघि उपसचिव हरि पंगेनीले प्रयोग गर्दै आउनुभएको थियो।
गाडी बिग्रिएपछि र यसको स्वामित्व तथा अभिलेखबारे प्रश्न उठेपछि हाल उक्त सवारी साधन प्रयोगविहीन अवस्थामा अस्पताल परिसरमै राखिएको छ । उपसचिव पंगेनीका अनुसार गाडी आफूले खरिद नगरेको र न्याम्सअन्तर्गत स्टोर शाखामा कार्यरत एक सहसचिवको सरुवाका क्रममा त्यहाँ ल्याइएको थियो ।
उहाँले गाडीको विवरण खोज्ने क्रममा स्वास्थ्य सेवा विभाग, राष्ट्रिय क्षयरोग केन्द्र तथा स्वास्थ्य मन्त्रालयमध्ये कुनै पनि निकायको अभिलेखमा उक्त सवारी फेला नपरेको बताउनुभयो । पंगेनीले गाडी हाल बीर अस्पतालको सर्जिकल भवनको अन्डरग्राउन्ड पार्किङको दोस्रो तलामा राखिएको जानकारी दिँदै मन्त्रालय वा सम्बन्धित निकायले खोजी गरेमा तत्काल बुझाउन सकिने अवस्थामा रहेको बताउनुभयो ।
उहाँका अनुसार गाडीको स्रोतबारे विभिन्न दाबी भए पनि कुनै आधिकारिक अभिलेख नपाइएकाले प्रयोगका क्रममा सामान्य मर्मतपछि पुनः बिग्रिएर थन्किएको हो। गाडी प्रयोग गरेको र पछि बिग्रिएपछि पार्किङमा राखिएको तथ्य उहाँले स्वीकार गर्नुभएको छ । सरकारी अभिलेखमा नरहेको सवारी साधन सरकारी प्रयोजनमा प्रयोग भएको विषयले सम्पत्ति व्यवस्थापन तथा अभिलेखीकरण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।
उहाँले भन्नुभयो,‘त्यो गाडिको अहिलेसम्म काँही कतै खोजी भएको छैन । सर्जिकल विल्डिङको अन्डरग्राउन्डमा दोस्रो तल्लामा राखिएको छ । मन्त्रालयले खोजेको अवस्थामा दिन सकिने अवस्थामा राखिएको छ । तर कसैले क्षयरोग केन्द्र, कसैले विभागबाट आएको भने तर अभिलेखमै नभएपछि प्रयोग गरेर सामान्य विग्रिएको र थन्काइएको छ ।’
अहिले जनमानसमा भने विभिन्न प्रश्न उठेको छ, उक्त सरकारी नम्बर प्लेट भएको गाडी सरकारी अभिलेखमा किन छैन रु गाडीको वास्तविक स्वामित्व कुन निकायको हो ? अभिलेखविहीन गाडी सरकारी कर्मचारीले कसरी प्रयोग गरे ? सम्बन्धित मन्त्रालय वा निकायले यसबारे अनुसन्धान गरेको छ कि छैन ?
यी र यस्ता प्रश्न भने अनुत्तरित रहेका छन् । सरकारी सम्पत्तिमा ठूलो प्रश्न : अभिलेखमै नभएको गाडी कसरी चल्यो ? उपसचिवले चढेको प्राडोको अहिले खोजी भएको हो, तर सरकारी रेकर्डमा कतै नभेटिएपछि प्राडो थन्किएको छ । बीर अस्पतालमा फेला परेको ‘अदृश्य’ सरकारी गाडीको अभिलेखमा नामोनिसान नभएपछि सरकारमाथि नै गम्भिर प्रश्न उठेको छ ।








प्रतिक्रिया