काठमाडौँ, २७ जेठ । काठमाडौं जिल्लाको टोखा नगरपालिका–५, बसुन्धारा स्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा बुधबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार बिहान अन्दाजी २ः५२ बजे सुरु भएको आगलागी ११ वटा दमकल, एक पानी ट्यांकर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायहरूको संयुक्त प्रयासमा करिब ५ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
आगलागीबाट सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज पूर्ण रूपमा नष्ट भएको छ। साथै अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत उल्लेखनीय क्षति पुगेको छ। त्यस्तै, लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको बताइएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण, क्षतिको यथार्थ विवरण तथा अन्य पक्षबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ८ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।








प्रतिक्रिया