काठमाडौं, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूलाई बलात्कार तथा ज्यान मार्ने धम्की आएको विषय संसदमा उठाएपछि गृहमन्त्री सुधन गुरुङले उहाँसँग छलफल गर्नुभएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने आफ्नो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सुनियोजित रूपमा ज्यान मार्ने र बलात्कार गर्ने धम्की आइरहेको बताउनुभएको थियो। उहाँको उक्त अभिव्यत्तिपछि गृहमन्त्री गुरुङ उहाँ बसिरहनुभएको स्थानमै पुगेर छलफल गर्नुभएको हो।
संसदमा धारणा राख्दै ओलीले नेपालको संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाउँदा आफू निशानामा परेको बताउनुभयो। उहाँले आफूलाई आएको धम्की व्यक्तिगत मात्र नभई सनातन धर्मावलम्बीहरूमाथिको आक्रमणका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
“९० प्रतिशत सनातनीहरू बसोबास गर्ने देशमा नेपाल सनातन राज्य हुनुपर्छ भन्ने कुरा मैले यो सदनमा उठाउँदा सुनियोजित रूपमा ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको छ,” उहाँले भन्नुभयो।
उहाँले यस्ता धम्की आफूले सहन सक्ने भए पनि लोकतान्त्रिक समाजमा विचार व्यक्त गरेकै कारण कसैलाई धम्की दिनु अस्वीकार्य भएको बताउनुभयो।
संसदमा विषय उठेपछि गृहमन्त्री गुरुङले घटनाबारे जानकारी लिँदै आवश्यक सुरक्षा तथा अनुसन्धानका विषयमा छलफल गर्नुभएको स्रोतले जनाएको छ। धम्की दिने व्यक्तिको पहिचान तथा घटनाको थप अनुसन्धानबारे भने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।








प्रतिक्रिया