सात इन्जिनियर सेवाबाट हटाइए

काठमाडौं, २ मंसिर । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना बिदामा बसेको भन्दै सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।

मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरमाथि कारबाही गरेको हो ।

सेवाबाट हटाइएकामध्ये छ जना लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको र एक जना स्वीकृतिबिना बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन् ।

कार्यालयमा हाजिर नभएको कसुरमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेशप्रसाद पौडेललाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, स्वीकृति नलिई बिदामा बसेको कसुरमा पदमेन्द्रप्रसाद श्रेष्ठलाई पनि सरकारी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार  ०८ : ५८  बजे