नेतन्याहुलाई आइजेनकोटको चेतावनी– यो राजनीतिक चालले मलाई केही फरक पार्दैन

काठमाडौं, २९ कात्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रिय एकताको सरकार गठन गर्ने नाममा राजनीतिक देखावटी गरिरहेको आरोप लगाउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आइजेनकोटले नेतन्याहूले वार्ताका लागि गरेको आह्वान अर्को राजनीतिक चाल मात्र भएको बताउनुभयो । उहाँका अनुसार ये श अतीद र लिकुड पार्टीका वार्ता टोलीबीचको बैठक अर्को दिनका लागि यसअघि नै तय भइसकेको छ ।

आइजेनकोटले नेतन्याहूले राष्ट्रिय एकताको कुरा गरिरहेको भए पनि इजरायली संसद् (नेसेट) मा भइरहेको औपचारिक सरकारी प्रक्रियाको अपमान गरिरहेको आरोप लगाउनुभयो । उहाँले नेतन्याहूमाथि देशमा विभाजन र उत्तेजना फैलाउने राजनीति गरेको आरोपसमेत लगाउनुभयो ।

‘प्रयास राम्रो हो, तर यस्ता चालले मलाई काम गर्दैनन् र इजरायली नागरिकलाई पनि प्रभावित पार्न सक्दैनन्,’ उहाँले भन्नुभएको छ । आइजेनकोटले नेतन्याहु आफू चुनावमा पराजित हुनेबारे जानकार रहेको दाबीसमेत गर्नुभएको छ । उहाँका अनुसार इजरायली नागरिक र संसद् दुवैमा नेतन्याहुको विपक्षमा स्पष्ट बहुमत रहेको छ ।

यसअघि नेतन्याहुले आइजेनकोटसँग राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने आफ्नो प्रस्ताव दोहोर्याउनुभएको थियो । सामाजिक सञ्जाल एक्समार्फत उनले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीको सामना गर्न राष्ट्रिय एकताको सरकार आवश्यक रहेको बताउनुभएको थियो ।

इजरायलका लागि सबैभन्दा ठूलो सुरक्षा खतरा इरान रहेको उहाँले उल्लेख गर्नुभएको छ । नेतन्याहुले राष्ट्रिय एकताको सरकार गठन भएमा इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीसँग प्रभावकारी रूपमा जुध्न सक्ने दाबी गर्नुभएको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार  १५ : ५०  बजे