रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं, २ मंसिर । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एएन–१२ विमान केमेरोभो क्षेत्रको सुनसान स्थानमा दुर्घटनाग्रस्त भएको हो । प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हुन सक्ने मन्त्रालयले जनाएको छ ।

बीबीसी उर्दूका अनुसार विमान दुर्घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

स्थानीय गभर्नर इल्या सेरेद्यूकले विमान यागुनोभो गाउँनजिक दुर्घटनाग्रस्त भएको जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनापछि विमानमा लागेको आगो उद्धार टोलीले तत्काल नियन्त्रणमा लिएको थियो ।

घटनापछि प्रहरीले दुर्घटनास्थल आसपासको क्षेत्र घेराबन्दी गरेको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार  ०७ : १८  बजे