काठमाडौं, २ मंसिर । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौं आइसकेको एमालेले जनाएको छ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्नुका साथै आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने र पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल हुनेछ । भेलाका एजेन्डालाई सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलाले पार्टीको आगामी राजनीतिक कार्यदिशा र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरी आवश्यक रणनीति तय गर्ने एमालेले जनाएको छ ।












प्रतिक्रिया