काठमाडौं, २९ कात्तिक । पोर्चुगलले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको सम्मानमा राष्ट्रिय टोलीको ७ नम्बर जर्सीको डिजाइन नै परिवर्तन गरेको छ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका रोनाल्डोले आफ्नो २३ वर्षे अन्तर्राष्ट्रिय खेलजीवनमा लगाउँदै आएको ७ नम्बर जर्सीलाई पोर्चुगलले विशेष तरिकाले अमर बनाउने निर्णय गरेको हो ।
पोर्चुगिज फुटबल महासंघले अब राष्ट्रिय टोलीको जर्सीमा ७ नम्बरलाई नयाँ डिजाइनमा प्रस्तुत गर्ने घोषणा गरेको छ । नयाँ डिजाइनमा अंक ७ को बीचमा तेर्सो धर्सा राखिएको छ । यससँगै रोनाल्डोले लगाउँदै आएको पुरानो डिजाइन अब अरू कुनै खेलाडीले लगाउने छैनन् ।
तर, ७ नम्बर नै भने हटाइएको छैन । फिफा र युईएफएको नियमअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीको जर्सी नम्बर क्रमिक हुनुपर्ने भएकाले पोर्चुगलले यस्तो सिर्जनात्मक उपाय अपनाएको हो । पोर्चुगिज महासंघले पुरानो डिजाइनलाई रोनाल्डोको विरासतका रूपमा सुरक्षित राख्ने जनाएको छ ।
शनिबार डेनमार्कविरुद्धको नेसन्स लिग खेलमा नयाँ डिजाइनको ७ नम्बर जर्सी पहिलोपटक प्रयोग गरिएको छ । क्लब ब्रुगका २२ वर्षीय फरवार्ड कार्लोस फोर्ब्सले उक्त जर्सी लगाउने अवसर पाए । पोर्चुगलले रोनाल्डोको सम्मानमा खेलअघि विशेष कार्यक्रमसमेत आयोजना गरेको थियो ।
मैदान प्रवेश गर्दा पोर्चुगलका सबै खेलाडीले पुरानो डिजाइनको ७ नम्बर जर्सी लगाएका थिए । खेलको सातौं मिनेटमा समर्थकहरूलाई उठेर रोनाल्डोको सम्मानमा ताली बजाउन पनि आग्रह गरिएको थियो । ४१ वर्षीय रोनाल्डोले नोभेम्बर ५ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।
उहाँले पोर्चुगलका लागि २३४ खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन् । सन् २००३ मा काजकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरोकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उहाँको कप्तानीमा पोर्चुगलले सन् २०१९ र २०२५ मा नेसन्स लिगसमेत जितेको थियो ।












प्रतिक्रिया