काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने प्रशासनको तयारी, सुरक्षा र पूर्वाधारमा जोड

काठमाडौं, २ मंसिर । काठमाडौंका सबै बजार तथा व्यापारिक क्षेत्र चौबीसै घण्टा खुला गर्ने तयारी जिल्ला प्रशासन कार्यालयले थालेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार सूचना जारी गर्दै काठमाडौंका अन्य बजार क्षेत्रका व्यापार तथा व्यवसाय पनि चौबीसै घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो ।

हाल काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुला छन् । अब बाँकी क्षेत्रका व्यवसाय पनि रातभर सञ्चालन गर्न स्थानीय तह, विभिन्न विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग समन्वय गरिने प्रशासनले जनाएको छ ।

संघीय राजधानी काठमाडौंका सबै क्षेत्र चौबीसै घण्टा खुला गर्नुअघि भरपर्दो सुरक्षा व्यवस्था र आवश्यक पूर्वाधार सुनिश्चित गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभएको छ ।

त्यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्ती लगायतका पूर्वाधार पर्याप्त बनाउने तयारी भइरहेको छ । साथै यातायात, व्यापार, व्यवसाय, आपूर्ति र सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउने गरी रणनीति तयार गरिने सूचनामा उल्लेख छ ।

प्रशासनका अनुसार विस्तृत तयारी पूरा भएपछि मात्रै काठमाडौंका समग्र क्षेत्र चौबीसै घण्टा खुला गर्ने निर्णय हुनेछ ।

त्यतिन्जेल ठमेल र दरबारमार्गबाहेक अन्य क्षेत्रका व्यवसायीलाई अर्को सूचना जारी नभएसम्म साविककै निर्धारित समयभित्र व्यवसाय सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार  ०७ : ३६  बजे