गुल्मी, २ मंसिर । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी कार्यालय परिसरभित्रै रहेको क्वार्टरमा मृत फेला परेका छन् ।
उनी मंगलबार बिहान सिनियर अधिकृतको निवासमा अचेत अवस्थामा फेला परेका थिए । बिहान साढे ९ बजेसम्म पनि केसी नउठेपछि खोजी गरिएको थियो ।
क्वार्टरको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई अचेत अवस्थामा बाहिर निकालेको थियो । तत्काल अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले घटनाबारे जानकारी दिनुभएको हो ।
केसीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने एसपी बोगटीले बताउनुभयो ।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उहाँ २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।
प्रहरीले प्रहरी निरीक्षक केसीको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया