एमाले गोरखाले गर्‍यो चक्रे मिलनलाई उम्मेदवार सिफारिस

काठमाडौं, १८ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ। जिल्ला कमिटीको आज बसेको बैठकमा गोरखाको दुईवटै निर्वाचन क्षेत्रका प्रस्तावित उम्मेद्वारका नाम प्रदेश कमिटीमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिनुभयो ।

एमाले गोरखा क्षेत्र नं १ बाट दुईजना र क्षेत्र नं २ बाट तीनजनाको नाम सिफारिस गरेको उनले बताए। एमाले प्रतिनिधिसभा गोरखा क्षेत्र नं १ बाट आरसी लामिछाने र लीला न्यौपानेको नाम सिफारिस गरेको छ। त्यसैगरी प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का लागि एमालेले तीन जना नेताको नाम सिफारिस गरेको छ।

सो क्षेत्रमा चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेलको नाम सिफारिस गरेको हो। पार्टीका पूर्वजिल्ला कमिटी सचिव बाबुराम थापा र महिला नेतृ शशिकला पोखरेललाई पनि सोही क्षेत्रबाट उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ। बैठकले दुवै क्षेत्रमा समानुपातिक, जातीय, भौगोलिक लैङ्गिक सन्तुलन कायम गरी उम्मेद्वारको सिफारिस गरेको सचिव रोकाले बताउनुभयो ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  २० : ०४  बजे