काठमाडौं, १५ साउन । भोटेकोशी हेली रिसोर्ट परियोजनासँग सम्बन्धित आर्थिक विवादमा कम्पनीका निर्देशक तथा सिग्नेटरी समिर कुमार नेपालमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्।
पीडित लगानीकर्ता तथा स्रोतहरूले उनलाई परियोजनामा भएका कथित आर्थिक अनियमितता, ओभर फाइनान्सिङ तथा व्यवस्थापनसम्बन्धी निर्णयका प्रमुख योजनाकारमध्ये एक रहेको दाबी गरेका छन्। पीडित पक्षका अनुसार, समिर कुमार नेपालले आफूलाई राजनीतिक रूपमा प्रभावशाली व्यक्तिसँग निकट सम्बन्ध रहेको र आफूलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भतिजो भएको भन्दै प्रभाव जमाउने गरेको उहाँ माथि आरोप छ। यही प्रभावका आधारमा उहाँले कम्पनीमा करिब ५० हजार कित्ता सेयर बिना लगानी प्राप्त गरेको र बैंकबाट ठूलो परिमाणमा ऋण स्वीकृत गराउन भूमिका खेलेको दाबी गरिएको छ। लगानीकर्ताहरूले आरोप लगाएका छन् कि बैंकबाट भएको कथित ओभर फाइनान्सिङ प्रक्रियामा पनि उनको प्रभाव निर्णायक रहेको थियो। उहाँ कम्पनीका निर्देशक र अधिकृत हस्ताक्षरकर्ता (सिग्नेटरी) भएकाले परियोजनासम्बन्धी महत्त्वपूर्ण आर्थिक निर्णयमा प्रत्यक्ष संलग्न रहेको दाबी गरिएको छ।
स्रोतहरूका अनुसार, समिर कुमार नेपालले राजनीतिक पहुँचको नाममा विभिन्न व्यक्तिलाई डर, धम्की तथा दबाब दिने, पैसा उठाउने तथा नक्कली उजुरी दर्ता गराउन भूमिका खेल्ने गरेको आरोप पनि लागेको छ। यसका साथै, केही स्रोतहरूले उहाँलाई राजनीतिक व्यक्तिहरूको कालोधन सेतो बनाउने (मनी लाउन्डरिङ) कार्यमा पनि संलग्न रहेको आरोप लगाएका छन्। केही उजुरीका आधारमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित निकायमा पनि उनीबारे अनुसन्धानको माग गरिएको दाबी स्रोतहरूले गरेका छन्। उहाँको सम्पत्तिको स्रोत र आर्थिक कारोबारबारे सम्बन्धित निकायमा उजुरी परेको दाबी भए पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन।
पीडित लगानीकर्ताहरूले समिर कुमार नेपाललाई कम्पनीभित्र भएका कथित आर्थिक अनियमितताको मुख्य योजनाकारमध्ये एक भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूले सम्बन्धित निकायले कम्पनीका सम्पूर्ण वित्तीय कारोबार, सेयर वितरण, बैंक ऋण स्वीकृति प्रक्रिया तथा निर्णयहरूबारे विस्तृत अनुसन्धान गर्नुपर्ने बताएका छन्।







प्रतिक्रिया