बिर्तामोडको सुधार केन्द्रमा युवकको मृत्यु, सीसीटीभीमा बाँधेर राखेको दृश्य

झापा, २ कात्तिक । बिर्तामोड नगरपालिका–१ स्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा एक युवकको मृत्यु भएपछि परिवारले सञ्चालक तथा घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गरेको छ। सुधार केन्द्रको सीसीटीभी फुटेजमा युवकलाई हातखुट्टा बाँधेर राखेको र कुटपिट गरेको देखिएपछि घटनाबारे थप अनुसन्धानको माग उठेको छ।

इलामको फाकफोकथुम गाउँपालिका–२ कोल्बोटेका ३३ वर्षीय नरबहादुर बस्नेतको सुधार केन्द्रमा मृत्यु भएको हो। मदिरा सेवनको लत छुटाउने उद्देश्यले परिवारले उनलाई तीन महिनाका लागि राख्ने सम्झौतासहित गत असोज २५ गते केन्द्रमा भर्ना गराएको थियो।

भर्ना भएको दुई दिनपछि असोज २७ गते बस्नेत बिरामी परेको खबर परिवारलाई दिइएको थियो। परिवारका सदस्य पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो। सुधार केन्द्रका सञ्चालकले उनलाई सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यसपछि बिर्ता सिटी अस्पताल पुर्‍याएका थिए। अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकका भाइ तारा बस्नेतले शव हेर्दा शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको भन्दै जाहेरीमा उल्लेख गरेका छन्। अस्पताल प्रशासनबाट बुझ्दा उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको जानकारी पाएको परिवारको भनाइ छ।

सार्वजनिक भएको सीसीटीभी फुटेजमा बस्नेतलाई कोठाभित्र खाटमा हातखुट्टा बाँधेर राखिएको, पीडाले चिच्याउँदा केही व्यक्तिले शरीर थिचेर थप डोरीले बाँधेको र गालामा झापड हानेको दृश्य देखिएको छ। एक व्यक्ति लट्ठी बोकेर उभिएको पनि फुटेजमा देखिन्छ।

घटनापछि परिवारले सुधार केन्द्रको लापरबाही र सम्भावित कुटपिटबारे निष्पक्ष छानबिन गरी दोषी देखिने व्यक्तिमाथि कारबाही गर्न माग गरेको छ। परिवारले सञ्चालक तथा संलग्न व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएको छ। घटनाको दोष र मृत्युको कारण भने अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  १३ : ०५  बजे