यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २ कात्तिक । देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

देशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  ०६ : ५५  बजे