फ्रान्समा महँगी र सार्वजनिक सेवाविरुद्ध प्रदर्शन उग्र, पेरिससहित ठूला सहरमा हिंसा

काठमाडौं, १ कात्तिक । बढ्दो महँगी, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा आएको गिरावटविरुद्ध फ्रान्समा भएको प्रदर्शन हिंसात्मक बनेको छ । राजधानी पेरिससहित मार्से, टुलोन र ल्योनजस्ता ठूला सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, तोडफोड तथा आगजनीका घटना भएका छन् ।

फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार प्रदर्शनमा युवा, विद्यार्थी र सर्वसाधारण सहभागी भएका छन् । सीजीटी युनियनका अनुसार देशभर करिब पाँच लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति इमानुएल म्याक्रोंको राजीनामासमेत माग गरेका छन् ।

प्रदर्शन उग्र बनेपछि विभिन्न सहरमा पसल, सरकारी कार्यालय, सवारीसाधन, निजी आवास तथा ऐतिहासिक भवनमा तोडफोड र आगजनी भएको खबर छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । घटनाका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् भने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।

राष्ट्रपति म्याक्रोंले हिंसामा संलग्नलाई कारबाही गरिने बताएका छन् । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसात्मक गतिविधिबाट सरकार नतर्सिने प्रतिक्रिया दिएका छन् । उनले हिंसामा उग्रवामपन्थी समूह र अपराधीको संलग्नता रहेको आरोपसमेत लगाएका छन् ।

प्रदर्शन र हिंसात्मक घटनाले फ्रान्समा राजनीतिक तनाव थप बढाएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८३, आइतबार  २० : १८  बजे