काठमाडौं, १ कात्तिक । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाले ज्यान गुमाएका हुन् ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा आइतबार बिहान को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की २१ वर्षीया युपना राईसहित तीन जना छन् । दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल तथा अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा मोटरसाइकल र विद्युतीय गाडी एकआपसमा ठोक्किँदा ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलमा दुई मोटरसाइकल ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, मोरङको सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलमा दुई मोटरसाइकल ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ ।
रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा अटो दुर्घटना हुँदा ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको अटो आइतबार बिहान दुर्घटनामा परेको थियो ।












प्रतिक्रिया