ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं, १२ साउन ।काठमाडौं–२०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक सञ्जाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद्बाट तत्कालीन सरकारलाई प्रश्नले घोचिरहनुहुन्थो । देशमा कुनै घटना हुनेबित्तिकै यी दुईजना आक्रमक रुपसहित सरकारलाई झम्टिन पुग्नुहुन्थ्यो। । तर सुनसरी सदरमुकाम इनरुवादेखि २५ किलोमिटर दक्षिणमा पर्ने देवानगञ्जमा आइतबार भएको घटनालाई लिएर उहाँहरू चुपचाप हुनुहुन्छ ।

सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सरकारको भूमिकालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङमाथि प्रश्न उठ्न थालेको छ। विपक्षी दल, राजनीतिक विश्लेषक तथा नागरिक अगुवाले घटनाबारे सरकारको सार्वजनिक धारणा ढिलो आएको र नेतृत्व पर्याप्त सक्रिय नदेखिएको टिप्पणी गरेका छन्।

आइतबार भएको घटनामा एक जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्। त्यसयता स्थानीय क्षेत्रमा तनाव कायम रहे पनि प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रूपमा सम्बोधन नगरेको भन्दै आलोचना भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घटनाको तीन दिनपछि विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, सामाजिक सद्भाव कायम राख्न र घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ।

गृह मन्त्रालयले घटनाको अनुसन्धानका लागि सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। घटनापछि सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख (डीआईजी) र जिल्ला प्रहरी प्रमुख (एसपी) लाई जिम्मेवारीबाट हटाएर नयाँ अधिकारी पठाइएको छ। गृह मन्त्रालयले सुरक्षा निकायलाई निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिइएको जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयले भने घटनालाई गम्भीर रूपमा लिइएको, अनुसन्धानका लागि आवश्यक निर्देशन दिइसकिएको र सम्पूर्ण तथ्य बाहिर आएपछि मात्रै निष्कर्षमा पुग्नुपर्ने धारणा राखेको छ। गृहमन्त्रीको सचिवालयले पनि छानबिन प्रक्रिया जारी रहेकाले अहिले अनुसन्धानलाई प्राथमिकता दिइएको जनाएको छ।

यद्यपि राजनीतिक विश्लेषकहरूले कार्यकारी नेतृत्वले संवेदनशील घटनामा जनतालाई आश्वस्त पार्ने गरी सार्वजनिक अपिल गर्नुपर्ने बताएका छन्। विश्लेषक झलक सुवेदी, इन्द्र अधिकारीलगायतले प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारीसहित सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यसैबीच प्रतिपक्षी दलहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा संसदीय छानबिन समितिको माग गरेका छन्। संसद्मा पनि यस विषयमा छलफलको माग उठेको छ।

प्रहरीका अनुसार देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको हो। २४ जना घाइतेहरूको उपचार भइरहेको छ भने घटनाबारे गठित छानबिन समितिले अनुसन्धान अघि बढाइरहेको छ। प्रहरीले सुनसरीका प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको र अवस्था क्रमशः सामान्य बन्दै गएको जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  २१ : ४१  बजे