काठमाडौं, १९ साउन । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ पर्नुभएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राहदानीसम्बन्धी कसुरमा उहाँलाई सोमबार काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर भएपछि सीआईबीले नियन्त्रणमा लिएको जनाएको छ।
सीआईबीका अनुसार गैरकानुनी रूपमा जारी गरिएको यात्रा अनुमतिपत्र बोकेर पुगेका एक व्यक्तिको राष्ट्रियतामाथि शङ्का उत्पन्न भएपछि काठमाडौंस्थित जर्मन दूतावासले अनुसन्धान थालेको थियो। त्यसक्रममा दूतावासले २०६८ जेठ २० गते पाँच वटा सक्कल ट्राभल डकुमेन्ट थप अनुसन्धानका लागि सीआईबीलाई बुझाएको थियो।
अनुसन्धानका क्रममा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृतका रूपमा कार्यरत भट्टराईको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीको दाबी छ।
प्रहरीले उहाँविरुद्ध राहदानीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ।







प्रतिक्रिया