काठमाडौं, २ कात्तिक । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै अंकतालिकाको शीर्ष ६ मा स्थान सुरक्षित गरेको छ।
ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको थियो। जवाफमा ओमानले ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाउनुभयो। उहाँले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गर्नुभयो। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६९ रन जोड्नुभयो भने देव खनालले ५७ रनको योगदान दिनुभयो। अन्त्यतिर ब्याटिङ गर्नुभएका बासिर अहमदले सात बलमा १७ रन जोड्दै नेपालको योगफल उकास्नुभयो।
२८१ रनको लक्ष्य पछ्याएको ओमानले एक समय एक विकेटको क्षतिमा १९० रन बनाउँदै जिततर्फ अघि बढेको थियो। तर नेपाली बलरले महत्त्वपूर्ण विकेट लिएपछि खेलमा नेपालको पुनरागमन भयो।
ललितनारायण राजवंशीले जतिन्दर सिंह र हम्मद मिर्जाबीचको १५८ रनको साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काउनुभयो। नेपालका लागि राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिनुभयो। कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३७ रन खर्चेर एक विकेट लिनुभयो।
अन्तिम खेलमा जित निकालेसँगै नेपालले विश्वकप लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहन सफल भएको छ।












प्रतिक्रिया