रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

काठमाडौं, १९ साउन । दक्षिणी रुसको एक समुद्री तटीय क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभका अनुसार घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको छ। उहाँले युक्रेनले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाउनुभएको छ। युक्रेनले भने घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पर्यटकहरू समुद्री किनारमा रहेका बेला तीव्र गतिमा आएको ड्रोन भिरनजिकै ठोक्किएर विस्फोट भएको देखिएको छ। काला सागर नजिकको आर्खिपो–ओसिपोभ्का गाउँ आसपासको उक्त क्षेत्र रुसी पर्यटकहरूको लोकप्रिय गन्तव्य मानिन्छ।

ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन। केही युक्रेनी सञ्चारमाध्यमहरूले इलेक्ट्रोनिक वारफेयर प्रणालीका कारण ड्रोन लक्ष्यमा पुग्न नसकी समुद्री किनारमा खसेको दाबी गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटअघि गोली चलेको आवाज सुनिएकाले रुसी हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्ने प्रयास गरेको हुन सक्ने अनुमान गरिएको छ।

रुस–युक्रेन युद्ध जारी रहँदा पछिल्लो समय युक्रेनले रुसी भूभागभित्र ऊर्जा पूर्वाधार तथा सैन्य संरचनालाई लक्षित गर्दै ड्रोन आक्रमण तीव्र बनाएको छ। अर्कोतर्फ, रुसले पनि युक्रेनका विभिन्न सहरमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमणलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  ०७ : ३०  बजे