काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पर्याप्त मौज्दात रहेको दाबी गरिरहे पनि बजारमा विगत १० दिनदेखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। ग्यास नपाउँदा उपभोक्ता खाली सिलिन्डर बोकेर डिपो–डिपो धाउन बाध्य भएका छन् भने कतिपयको भान्सामा चुलोसमेत बल्न सकेको छैन।
डिपो सञ्चालकहरूका अनुसार उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति हुन नसक्दा वितरण प्रभावित भएको हो। ललितपुरको बोलढोकास्थित नेपाल ग्यास डिपोका सञ्चालकले उद्योगबाट १० दिनदेखि ग्यास नआएको बताउनुभएको छ।
उपभोक्तावादीहरूले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको आशंका व्यक्त गरेका छन्। आपूर्ति सीमित बनाएर माग बढेको देखाउने, मूल्य समायोजन वा अन्य सुविधा प्राप्त गर्न दबाब सिर्जना गर्ने उद्देश्यले अभाव गराइएको हुन सक्ने उनीहरूको भनाइ छ। यस्ता गतिविधि सम्बन्धित निकाय र उद्योगीबीचको मिलेमतोबिना सम्भव नहुने आरोपसमेत उनीहरूले लगाएका छन्।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले नेपाल आयल निगमको कमजोर आपूर्ति व्यवस्थापनका कारण पटक–पटक ग्यास अभाव हुने गरेको बताउनुभएको छ।
यता, नेपाल एलपी ग्यास उद्योग सङ्घका महासचिव अमित अग्रवालले भारतबाट पर्याप्त मात्रामा ग्यास आयात हुन नसक्दा समस्या देखिएको बताउनुभएको छ। उहाँका अनुसार दैनिक आवश्यक परिमाणमा ग्यास आयात भए आपूर्तिमा समस्या नहुने दाबी छ।
बजारमा ग्यास अभाव बढेपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट १४.२ किलोग्राम क्षमताका सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ। नेपाल ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर उपलब्ध गराइएको निगमले जनाएको छ।
निगमले ग्यास उद्योगीहरूलाई बजारमा सहज आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको र दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको दाबी गरेको छ। तर उपभोक्ताले भने अझै पनि लामो समय लाइन बस्नुपर्ने र ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको गुनासो गरिरहेका छन्।







प्रतिक्रिया