प्रतिनिधिसभाको बैठक आज, भूमिहीन र सुकुम्बासीसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं, १९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना तथा वास्तविक भूमिहीनलाई यथाशीघ्र लालपूर्जा वितरण गर्न सरकारसँग माग गरिएको छ।

उक्त प्रस्तावका समर्थक सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहनुभएको छ।

यसैबीच, आज विभिन्न पाँच संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि दफावार छलफल जारी रहनेछ।

अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्नेछ भने उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची तय गरेको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल विशेष सेवा ऐन, २०४२ सम्बन्धी विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुनेछ। साथै, कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि छलफल गरिनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  ०७ : २६  बजे