काठमाडौं, १८ कातिक । गएको असोज महिनामा गाडी दुर्घटनामा परेर देशभर दुई सय ४७ जनाको ज्यान गएको छ ।नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा तीन हजार नौ सय ४७ वटा गाडी दुर्घटना हुँदा दुई सय ४७ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक सय ७७ पुरुष, ५८ महिला, नौ बालक र तीन जना बालिका छन् ।असोज महिनामा गाडी दुर्घटनामा आठ सय ४८ जना गम्भीर घाइते भएका छन् । यस्तै चार हजार ३७ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।असोजमा सबैभन्दा धेरै दुई हजार चार सय ६७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी पाँच सय ५५, बस एक सय २५, टेम्पो तीन सय २५ वटा दुर्घटनामा परेका छन् ।सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका प्रहरीको तथ्याङ्क छ । गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले असोज महिनामा ३३ हजार दुई सय २६ जना चालकलाई कारबाही गरेर तीन करोड १३ लाख ७३ हजार रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।








प्रतिक्रिया