काठमाडौं, २१ साउन। भारतका विभिन्न विमानस्थल हुँदै व्यक्तिगत (भिजिट) भिसामार्फत दैनिक सयौं नेपाली श्रमिक खाडी, युरोप तथा मलेसियालगायतका गन्तव्यमा गइरहेका बेला वैदेशिक रोजगार विभाग भने त्यसतर्फ मौन देखिएको छ। तर, भारतको विमानस्थल प्रयोग गरी श्रम स्वीकृति प्रक्रियाअन्तर्गत कामदार पठाएका म्यानपावर कम्पनीमाथि मात्रै विभागले कारबाही अघि बढाएको भन्दै प्रश्न उठ्न थालेको छ।
श्रम तथा रोजगार मन्त्रालय स्रोतका अनुसार विभागकी महानिर्देशक मिरा आचार्यले केही म्यानपावर कम्पनीमाथि मात्रै कडा कारबाही गरेको भन्दै विभागभित्रै निष्पक्षतामाथि प्रश्न उठाइएको छ। केही कर्मचारीले भारतस्थित ट्राभल व्यवसायीसँगको सम्भावित “सेटिङ” को आशंका व्यक्त गरेको दाबी गरिएको छ। यद्यपि, यस विषयमा विभागको आधिकारिक धारणा सार्वजनिक भएको छैन।
व्यवसायीहरूको भनाइअनुसार विभागले अनलाइन तथा इमेलमार्फत विवरण माग गरे पनि समयमै विवरण पठाएका केही कम्पनीमाथि समेत कारबाही गरिएको छ। कतिपय नयाँ दर्ता भएका तथा विदेशमा श्रमिक नै नपठाएका म्यानपावर कम्पनीसमेत कारबाहीमा परेको उनीहरूको दाबी छ।
विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको उडान विवरण माग गरेको थियो। विभागका अनुसार सञ्चालनमा रहेका १,११७ वटा म्यानपावर कम्पनीमध्ये ६७८ कम्पनीले विवरण उपलब्ध गराएका छन्।
यसैबीच, सामाजिक सञ्जालमा विभागकी महानिर्देशक आचार्यको भनिएको एउटा भिडियो पनि चर्चामा आएको छ, जसमा उनले आफू प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्बन्ध रहेको र आफ्नो पक्षमा समाचार लेख्ने सञ्चारमाध्यमको मात्रै फोन उठाउने अभिव्यक्ति दिएको दाबी गरिएको छ। उक्त भिडियोको आधिकारिक पुष्टि भने हुन बाँकी छ।
भारतबाट व्यक्तिगत भिसामा हुने श्रमिक आवागमन र त्यसमा संलग्न नेटवर्कमाथि प्रभावकारी अनुगमन नगरी म्यानपावर कम्पनीलाई मात्रै लक्षित गरी कारबाही गरिएको हो वा होइन भन्ने विषयमा निष्पक्ष छानबिनको आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ छ।







प्रतिक्रिया