गोलबजार गोलीकाण्ड : गणेश यादवका परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने

जनकपुरधाम, १६ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ।

गृहमन्त्री सुदन गुरुङ बिहीबार राति मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाही पुगेर परिवारसँग छलफल गर्नुभएपछि सहमति भएको हो।

सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ।

गृहमन्त्री गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच भएको सहमतिअनुसार मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ।

त्यसैगरी, परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिने, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा तथा बुबा–आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

सहमतिमा गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने, छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गरिने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गरिने विषय पनि समावेश गरिएको छ।

सहमतिअनुसार शुक्रबार (साउन १६ गते) गणेश यादवको दाहसंस्कार गरिने उल्लेख गरिएको छ।

सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उहाँका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ।

सरकार र पीडित परिवारबीच भएको यो सहमतिपछि घटनाको न्यायिक प्रक्रिया अघि बढ्ने, पीडित परिवारलाई राहत उपलब्ध हुने तथा प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार  ०८ : ४७  बजे