काठमाडौं, ३ कात्तिक । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिर आज महानवमीका अवसरमा बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। भक्तजनले बेलुकी ६ बजेसम्म मन्दिरमा पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन्।
हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार सरोकारवाला निकायसँगको छलफलपछि मन्दिर बिहानदेखि बेलुकीसम्म खुला गर्ने निर्णय गरिएको हो।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको यो मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ। यस दिन दर्शनका लागि हजारौँ भक्तजन पुग्ने गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तलेजु भवानीलाई असोज ३१ गते बिहान ७ बजेर ३७ मिनेटमा हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १० बजेर ३९ मिनेटमा स्थिरासन गराइएको थियो।
महाअष्टमीको राति मूलचोकमा कालरात्रि पूजा गरिनेछ। हेरचाह अड्डाका अनुसार पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिइनेछ। विजयादशमीसम्म मूलचोकमै राखेर तलेजु भवानीको पूजा आराधना गरिनेछ।
कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १० बजेर ५१ मिनेटमा तलेजु भवानीको यात्रा गराइने र ११ बजेर ५२ मिनेटमा मूल मन्दिरमा स्थिरासन गराइने समितिले जनाएको छ।












प्रतिक्रिया