संस्कृतिविद् डा. गोविन्द टण्डन गुठी संस्थान सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ। पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि गर्नुभएका उहाँले पशुपति क्षेत्र विकास कोषको दुई पटक नेतृत्व गरिसक्नुभएको छ। गुठी संस्थान विद्वत् परिषद्को नेतृत्वसमेत गरिसक्नुभएका टण्डनसँग दशैंको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व, हराउँदै गएको साधनाको पक्ष तथा पशुबलिको परम्परालगायत विषयमा राष्ट्रिय समाचार समिति (रासस) का पूर्णप्रसाद मिश्रले गर्नुभएको कुराकानीको सम्पादित अंश।
प्रश्न : दशैंको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई कसरी बुझ्न सकिन्छ ?
डा. गोविन्द टण्डन : नेपालमा वर्षैभरि विभिन्न चाडपर्व मनाइन्छन्। तीमध्ये विजयादशमी अर्थात् बडादशैंको विशेष महत्व छ। नवरात्र यसै पर्वको अभिन्न अङ्ग हो। नवरात्र साधनाको पर्व पनि हो, जसले मानिसलाई आफूलाई चिन्ने र आफ्ना कमजोरी हटाउने अवसर दिन्छ।
दशैं भन्नासाथ जुनसुकै नेपालीलाई, जहाँ बसेको भए पनि, घरको सम्झना आउँछ। विदेशमा रहेका नेपालीबीच पनि दशैंमा घर जाने कि नजाने भन्ने चर्चा हुन्छ। नेपालीलाई आफ्नो घर, परिवार र समाजसँग जोड्ने पर्व भएकाले दशैं दिनानुदिन राष्ट्रिय पर्वका रूपमा स्थापित हुँदै गएको छ।
यस पर्वले अनेकतामा एकताको भावना बलियो बनाएको छ। नेपाल एकीकरण हुनुअघि यहाँ ५२ भन्दा बढी साना राज्य थिए। पृथ्वीनारायण शाहले गोरखामा प्रचलित विजयादशमीलाई राष्ट्रिय पर्वका रूपमा विस्तार गर्ने काम गर्नुभयो। गोरखाबाट विधिपूर्वक जमरा काठमाडौं ल्याउने परम्परा त्यसैको निरन्तरता हो। अहिले पनि सप्तमीका दिन गोरखाबाट जमरा ल्याएर हनुमानढोकामा सरकारी कार्यक्रमसहित भित्र्याउने चलन छ।
दशैं पहाड, तराई र हिमालका विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउँछन्। कतै टीका र जमरा लगाउने चलन छ भने कतै भाइचारा, शुभकामना आदानप्रदान र भेटघाटलाई प्राथमिकता दिइन्छ। नेपालका मुस्लिम र क्रिस्चियन समुदायका कतिपय व्यक्तिले पनि यस अवसरमा शुभकामना आदानप्रदान गर्ने र रमाइलो गर्ने गरेको पाइन्छ।
अहिले दशैं नेपालमा मात्र सीमित छैन। विश्वका विभिन्न देशमा रहेका नेपालीले पनि यसलाई उत्साहका साथ मनाउने गरेका छन्। विदेशी पर्यटकसमेत टीका लगाउने, जमरा थाप्ने र सांस्कृतिक उत्सवमा सहभागी हुने क्रम बढेको छ। यसबाट पर्यटन प्रवर्द्धनको सम्भावना पनि छ।
दशैंमा अग्रजबाट आशीर्वाद लिने, आफूभन्दा सानालाई आशीर्वाद दिने र सुख, शान्ति तथा आनन्दको कामना गर्ने परम्परा छ। यो आफैँमा महत्वपूर्ण सांस्कृतिक अभ्यास हो। कसैले रातो टीका लगाउँछन्, कसैले सेतो टीका लगाउँछन्, कसैले जमरा लगाउँछन् भने कसैले लगाउँदैनन्। यस्ता विविधताबीच पनि दशैंले नेपालीलाई जोड्ने काम गरिरहेको छ।
तर पछिल्ला वर्षमा यस पर्वको साधनात्मक र आध्यात्मिक पक्ष ओझेल पर्दै गएको छ। दशैंलाई खानेपिउने र मनोरञ्जन गर्ने अवसरका रूपमा मात्र बुझ्ने प्रवृत्ति बढेको देखिन्छ। यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई पनि सँगसँगै अघि बढाउनु अहिलेको चुनौती हो।
प्रश्न : दशैं संस्कृतिबाट हराउँदै गएका साधना एवं आध्यात्मिक पक्ष के–के हुन् ?
डा. टण्डन : पहिले नवरात्रलाई साधनाको पर्वका रूपमा लिइन्थ्यो। नौ दिनसम्म नवदुर्गा भवानीको पूजाआराधना गरिन्थ्यो। नेपालको सन्दर्भमा सात्विक, राजसी र तामसी गरी तीन प्रकारका पूजापद्धति देखिन्छन्। मानिसले आफ्नो श्रद्धा र विश्वासअनुसार साधना गर्थे।
साधनाको मुख्य उद्देश्य आफूभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता अवगुण हटाउनु हो। आफूभित्रको अज्ञानता र कमजोरी हटाइदिन देवीसँग प्रार्थना गर्ने, त्यसका लागि साधना गर्ने र दशैंका दिन टीका तथा प्रसाद ग्रहण गर्ने परम्परा छ। आफूले आशीर्वाद लिने र अरूलाई पनि आशीर्वाद दिने चलनको भित्री अर्थ यही हो।
अहिले यसको बाहिरी स्वरूप बाँकी रहे पनि भित्री तत्व, दर्शन र जीवनोपयोगी पक्ष बिर्सिंदै गएको अनुभूति हुन्छ। संस्कृति र नैतिक शिक्षाले विद्यालय तहदेखि पर्याप्त स्थान नपाउँदा पनि यस्तो अवस्था आएको हो। हामीलाई हाम्रो संस्कृतिले कसरी जोडेको छ, यसप्रति किन गर्व गर्नुपर्छ र यसका राम्रा पक्ष कसरी ग्रहण गर्नुपर्छ भन्ने विषयमा नयाँ पुस्तालाई बुझाउन आवश्यक छ।
संस्कृतिभित्र रहेका विकृतिहरू हटाउँदै जानुपर्छ भने सबल पक्षलाई संरक्षण गर्नुपर्छ। त्यसका लागि संस्कृति र नैतिक शिक्षालाई महत्व दिनु आवश्यक छ।
पहिले दशैं आउनुभन्दा १५–२० दिनअघिदेखि गाउँका मानिस जम्मा भएर गाउँटोल, कुवा, पँधेरो, इनार, विद्यालय, मठमन्दिर, विहार र गुम्बा सफा गर्ने चलन थियो। घर लिपपोत गर्ने, ध्वजापताका फहराउने र सामूहिक रूपमा पर्वको तयारी गर्ने परम्परा पनि थियो। अहिले यस्ता अभ्यास हराउँदै गएका छन्।
पहिलेका घरमा रातो माटो, कमेरो र चुन प्रयोग गरेर लिपपोत गरिन्थ्यो। अहिले आधुनिक वास्तुशैलीका घर बनेका छन् र रङ लगाउने तरिका पनि बदलिएको छ। समयअनुसार परिवर्तन हुनु स्वाभाविक हो। संस्कृतिका सबै पक्षलाई जस्ताको तस्तै राख्नुपर्छ भन्ने होइन। उपयोगी पक्ष संरक्षण गर्दै समयअनुकूल परिवर्तन स्वीकार गर्नुपर्छ।
प्रश्न : दशैंमा पशुबलि दिने र नदिने परम्परा छ। पशुबलिको चलन कहिलेदेखि सुरु भएको हो ?
डा. टण्डन : समाजमा मानिसको ज्ञान, बुद्धि र दर्शन बुझ्ने तह फरक–फरक हुन्छ। सात्विक, राजसी र तामसी पूजापद्धतिअनुसार आ–आफ्नै अभ्यास छन्। सात्विक पूजामा पशुपक्षीको बलि दिइँदैन। यहाँ बलि भन्नाले आफूभित्रको अज्ञानता, अन्धकार र अवगुण त्याग्ने अर्थमा पनि बुझ्नुपर्छ। मानिसले आफूले आराधना गर्ने देवीदेवतालाई आफ्ना कमजोरी हटाइदिन प्रार्थना गर्छन्।
राजसी र तामसी पूजापद्धतिमा तन्त्रको प्रभाव पाइन्छ। यही तन्त्रप्रधान पूजापद्धतिसँग पशुबलि जोडिएको देखिन्छ। नेपालको इतिहास र मूर्तिकलाको अध्ययन गर्दा देवी, मातृका र दुर्गाभवानीका धेरै मूर्ति मल्लकालमा बनेको पाइन्छ। हरिसिंह कर्नाटकवंशी राजा भक्तपुर आएपछि तुलजा भवानीको परम्परा स्थापित भएको र त्यसपछि देवीपूजाको प्रभाव विस्तार भएको ऐतिहासिक सन्दर्भ छ।
पाल र मैथिल परम्पराको प्रभावबाट मातृशक्तिको उपासना, ग्रन्थ र पूजापद्धति नेपालमा प्रवेश गरेको देखिन्छ। त्यस क्रममा तन्त्रप्रधान पूजाको प्रभाव पनि बढ्दै गयो। पशुबलिको परम्परा यही ऐतिहासिक प्रक्रियासँग जोडिएको मेरो बुझाइ हो। यस विषयमा इतिहास, मूर्तिकला र पूजापद्धतिको अध्ययनका आधारमा थप विमर्श गर्न सकिन्छ।
पहिले इष्टदेवी र कुलदेवीलाई पशुबलि दिने चलन व्यापक थियो। अहिले मानिसमा चेतना बढ्दै जाँदा पशुबलिबारे प्रश्न उठ्न थालेका छन्। कतिपय मठमन्दिरमा पशुबलि घटेको देखिन्छ। पशुको सट्टा नरिवल, कुभिण्डो वा अन्य वस्तुको बलि दिने अभ्यास पनि बढिरहेको छ। यसले समाजमा परिवर्तन भइरहेको संकेत गर्छ।
इतिहासमा सतीप्रथा पनि कुनै समय धर्मको अभिन्न अङ्गका रूपमा व्याख्या गरिएको थियो। पछि सुधारवादी व्यक्तित्वहरूले त्यसका विरुद्ध चेतना फैलाए र अन्ततः त्यो प्रथा इतिहासमा सीमित भयो। संस्कृतिमा पनि समयअनुसार संशोधन र परिमार्जन आवश्यक हुन्छ। परिवर्तन हुन नसक्ने संस्कृति पोखरीको पानीजस्तै स्थिर हुन्छ, तर संस्कृति झरनाको पानीजस्तै बगिरहनुपर्छ।
कुनै अभ्यासले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई सुख तथा आनन्द दिन्छ भने त्यसले संस्कृतिको सकारात्मक पक्षलाई प्रतिनिधित्व गर्छ। तर कुनै अभ्यासले अरूलाई दुःख दिने, पीडा पुर्याउने वा आँसु झार्न बाध्य बनाउने अवस्था सिर्जना गर्छ भने त्यसबारे पुनर्विचार गर्नुपर्छ।
मानिसलाई नबुझेका कुरा बुझाउँदै जानुपर्छ। सकारात्मक अभ्यासलाई व्यवहारमा अपनाउँदै लगेमा संस्कृतिभित्र रहेका विकृतिहरू स्वतः हट्दै जान्छन्। त्यसका लागि चेतना, शिक्षा र सामाजिक जागरण आवश्यक छ।
दशैं, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वको सांस्कृतिक महत्व उजागर गर्दै तिनको संरक्षण गर्नुपर्छ। साथै, समयसापेक्ष र व्यावहारिक पक्षलाई आत्मसात् गर्न सके हाम्रा चाडपर्वले नेपाल र नेपालीको गौरव अझ उच्च बनाउनेछन्।












प्रतिक्रिया