काठमाडौं, २७ असोज । एमालेले रास्वपा सांसद खगेन्द्र सुनारमाथि पार्टीले नभई राज्यका निकायले स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने बताएको छ ।
पूर्वराज्यमन्त्रीसमेत रहेकी महिला नेतृलाई सुनारले अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएपछि एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राज्यकै निकायले उनीमाथि छानबिन गर्नुपर्ने बताउनुभएको हो ।
‘हिजो शोषित, पीडित र दलित समुदायको न्यायका लागि बोल्नेहरू आज सत्ताको आडमा महिलालाई नै डर र धम्की दिने आरोपमा मुछिनु विडम्बनापूर्ण छ,’ उहाँले भन्नुभयो । महिलालाई ज्यान मार्ने, रगत पिउने रधम्की दिएको भनिएका अडियो सार्वजनिक भएपछि यो विषय अब पार्टीको आन्तरिक छानबिनमा मात्रै सीमित हुन नहुने उहाँको भनाइ छ ।
‘रास्वपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ, दलितको अधिकारको नारा लगाउनु र महिलाको सम्मानको रक्षा गर्नु फरक कुरा होइनन्, दुवै न्यायका आधार हुन् । महिला होस् वा दलित, कमजोर होस् वा शक्तिशाली, कसैलाई पनि धम्की र अपमान सहन बाध्य पार्न पाइँदैन,’ उहाँले भन्नुभयो ।
नेता आचार्यले सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने लाइसेन्स हुन नहुने पनि बताउनुभयो । ‘आरोप प्रमाणित भए पद, पार्टी र पहुँच नहेरी कानुनअनुसार कारबाही हुनुपर्छ । आरोपको निष्पक्ष छानबिन हुनुपर्छ र पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गरिनुपर्छ,’ उहाँले भन्नुभयो ।











प्रतिक्रिया