काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि नेप्से बढ्ने क्रम रोकिएको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंक बढेर २६२१.२६ विन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स ४.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक बढेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार चार अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज ३५४ स्टकको चार अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँबराबरको एक करोड १६ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।
घलेम्दी हाइड्रोको साढे २१ करोड र लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य १३.२१ प्रतिशत बढेको छ । ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।











प्रतिक्रिया