सरकारले सेनाको गरिमा घटाएको आरोप, कप्तानगञ्ज घटनामा प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार : मिराज ढुंगाना

काठमाडौं, २१ साउन। जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले साना–साना घटनामा समेत नेपाली सेना परिचालन गरेर सेनाको गरिमा र विश्वसनीयता कमजोर बनाएको आरोप लगाउनुभएको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आन्तरिक साना घटनामा बारम्बार सेना परिचालन गरिँदा जनतामाझ सेनाप्रतिको विश्वास घट्ने र यसले दीर्घकालमा राष्ट्रिय सुरक्षामा नकारात्मक असर पार्न सक्ने बताउनुभयो।

ढुंगानाले कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपमा निहत्था युवामाथि गोली चलाइएको भन्दै उक्त घटनाको राजनीतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने धारणा राख्नुभयो। उहाँले जेनजी आन्दोलनपछि बनेको सरकारले समेत युवामाथि गोली चलाएको आरोप लगाउँदै द्वन्द्व व्यवस्थापनमा घातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुक भएकाले सुरक्षा रणनीति परिपक्व, संयमित र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। उहाँले सरकारले राष्ट्रियता, भौगोलिक अखण्डता र नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा नीति सञ्चालन गर्न आग्रह गर्नुभयो।

उहाँले पेट्रोलियम पदार्थमा भइरहेको मिसावट नियन्त्रण गर्न, मूल्य घटाउन तथा नेपालको परराष्ट्र नीतिप्रति पनि सरकारले स्पष्ट र सन्तुलित दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  १८ : २४  बजे