सुरु भयो मौन अवधि, के–के गर्न छ निषेध ?

काठमाडौं, १९ फागुन ।  फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट सुरु भएको छ। मौन अवधि सुरु भएपछि राजनीतिक दलहरूले चुनाव प्रचार–प्रसारको काम गर्न पाउँदैनन्। मतदान हुने दिनको अघिल्लो ४८ घन्टा अघिदेखि मतदान सकिएर मतदान केन्द्र बन्द नभएसम्म आयोगबाट प्रचार–प्रसार निषेध अवधि तोकिएकाले सोमबार राति १२ बजेपछि निर्वाचनका प्रचार–प्रसार गरी मत माग्न नपाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। प्रचार–प्रसार निषेध अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ। दलहरूले यही फागुन ४ गतेदेखि प्रचार–प्रसारको काम गर्दै आफ्ना उम्मेदवारका लागि मत माग्दै आएका थिए। यो क्रम सोमबार राति १२ बजेदेखि सकिएको छ। मतदाताले आफ्नो विवेकको निर्णय स्वतन्त्रतापूर्वक गर्ने अवसरका निम्ति शान्ति वा निषेध अवधि अनिवार्य हुने र यसले स्वच्छ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। दलले प्रचार–प्रसार गर्ने अन्तिम दिन सोमबार हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा पर्व परेकाले पर्वसँगै निर्वाचन प्रचारप्रसार भएको थियो। राति १२ बजेदेखि सुरु भएको प्रचार–प्रसार निषेध अवधिमा कुनै पनि प्रचार–प्रसारका काम पूर्ण निषेध गरिएको छ। ‘यस अवधिमा राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार–प्रसार, कुनै किसिमको सन्देश सम्प्रेषणलगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ,’ जिसीले भने। मतदान हुने दिनको ४८ घण्टाअघि अर्थात् सोमबार राति १२ बजे मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार–प्रसार सामग्री पोस्ट वा सेयर गर्न वा गराउन निषेध गरिएको छ। मतदान कार्य प्रारम्भ हुनुभन्दा ३ घन्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गर्न नहुने निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ। आचारसंहिताको इमान्दारीपूर्वक पालना र कार्यान्वयनले सजग मतदाता तयार पार्न र निर्वाचनको निष्ठा प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको सहायक प्रवक्ता जिसीले बताए। संविधानले प्रदान गरेको अधिकारअनुसार निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण, समन्वय तथा सम्पूर्ण व्यवस्थापनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। नगद वा जिन्सी वितरण गरे के हुन्छ कारबाही ?   चुनाव प्रभावित पार्ने उद्देश्यले नगद वा जिन्सी लेनदेन गर्न हुँदैन। यस्तो गर्नेलाई १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई उसको मतदानको अधिकार प्रयोग गर्न वा नगर्न दबाब दिन हुँदैन। मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य दिन पाइँदैन। बक्सिसको रूपमा नगद वा जिन्सी दिन, सार्वजनिक भोज आयोजना गर्न पनि पाइँदैन। मतदाताले पनि त्यस्तो प्रयोजनका लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न हुँदैन। चुनाव प्रभावित पार्ने उद्देश्यले आयोजना गरिएको सार्वजनिक भोजमा मतदाता सहभागी हुन हुँदैन। यस्तो कार्य गरेको पाइएमा १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने आयोगले जनाएको छ। सकियो निर्वाचन पूर्वतयारीका काम २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन व्यवस्थापन र कर्मचारी खटाउने सबै काम सकिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आवश्यक व्यवस्थापन र कर्मचारी खटाउने सबै काम सकिएको जनाएका छन्। उनका अनुसार मतदान अधिकृतहरू मतदान केन्द्र र स्थलमा गइसकेका छन्। मतदान प्रक्रियाका लागि आवश्यक सामग्रीहरू पनि पुगिसकेका छन्। आचारसंहिता कार्यान्वयनमा कडाइ निर्वाचन आयोगले आज रातिबाट सुरु हुने मौन अवधि र मतदानको दिनसम्मको आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ। आयोगले विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो। प्रचार–प्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरिएको छ। कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचार सो अवधिमा निषेध गरिएको छ। सञ्चार माध्यमहरूले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि मतदाताले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अवसर भएको बताएका छन्। राजनीतिक दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकअनुसार निर्णय गर्ने अवसरका निम्ति प्रचार–प्रसार निषेध वा मौन अवधि तोक्ने गरिएको उनले बताए। निर्वाचन प्रचार अभियानलाई विजयी हुने साधनका रूपमा मात्र नलिई आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ। मौन अवधिमा के–के गर्न पाइँदैन ? १. निर्वाचन प्रचारप्रसारमा रोक निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन। २ भोजभतेर र हुलहुज्जत गर्न नहुने बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन हुँदैन।  ३. सामाजिक सञ्जालमा कडाइ सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा सेयर गर्न वा गराउनु हुँदैन।  ४. कुनै पनि तरिकाबाट मत माग्न नपाउने निर्वाचन प्रचार–प्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन।  ५. मतदानमा बाधा पुर्‍याउन नहुने मतदान कार्य प्रारम्भ हुनुभन्दा ३ घन्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गर्नुहुँदैन।  ६. विज्ञापन हटाउनुपर्ने राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचार–प्रसारका सामग्री हटाउनुपर्छ।  ७. मतदान केन्द्रमा शान्ति कायम राख्नुपर्ने मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन।  ८. प्रचार–प्रसार सामग्री हटाउनुपर्ने मतदान हुने दिनको ४८ घन्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ। स्रोतः निर्वाचन आयोग, नेपाल

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार  ०८ : ०८  बजे