भारत जाने टिकट देखाएर दुबई उडाइएका भारतीय नागरिक प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

काठमाडौं, २५ जेठ । भारत जाने टिकट देखाएर अध्यागमन प्रक्रिया पूरा गरेका एक भारतीय नागरिकलाई दुबई जाने बोर्डिङ पास उपलब्ध गराएको आरोपमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारी पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार निगमका करार कर्मचारी सुमित्रा चन्दप्रवीण लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार ती कर्मचारी ग्राउण्ड ह्यान्डलिङ सेवामा कार्यरत थिए। उनीहरूमाथि भारतीय नागरिकलाई आवश्यक कागजातबिना तेस्रो मुलुक पठाउन सहयोग गरेको आरोप छ।

प्रहरीका अनुसार एक भारतीय नागरिक भारतको इन्डिगो एयरलाइन्समार्फत यात्रा गर्ने विवरण प्रस्तुत गर्दै अध्यागमन जाँच पार गरी प्रतीक्षालयमा पुगेका थिए। तर, त्यसपछि उनलाई फ्लाई दुबईको उडानमार्फत दुबई जाने बोर्डिङ पास उपलब्ध गराइएको पाइएको छ।

प्रारम्भिक अनुसन्धानमा ती भारतीय नागरिक जेठ ३ गते दुबई पुगेको खुलेको छ। नेपालबाट तेस्रो मुलुक जाने भारतीय नागरिकले अनिवार्य रूपमा नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) पेश गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि उक्त प्रक्रिया पालना नगरिएको आरोप छ।

घटनाबारे अध्यागमन विभागले प्रहरीलाई औपचारिक जानकारी गराएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो। त्यसक्रममा संलग्नताको आशंकामा नेपाल एयरलाइन्सका दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै थप अनुसन्धान जारी रहेको जनाएको छ। अध्यागमन सुरक्षा प्रणाली र विमानस्थलको बोर्डिङ प्रक्रियामाथि प्रश्न उठाउने गरी देखिएको यो घटनाले विमानस्थल सुरक्षामा गम्भीर चासो र बहस सिर्जना गरेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  १९ : १९  बजे