काठमाडौं, १५ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ।
जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौंको निर्णयअनुसार राति तथा बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सञ्चालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो।
आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक थापाले लागुऔषध तथा विस्फोटक पदार्थको पहिचान र नियन्त्रणलाई प्रभावकारी बनाउन कुकुरसहितको चेकजाँचलाई तीव्रता दिइएको बताउनुभयो। उहाँका अनुसार विभिन्न स्थानमा ‘सरप्राइज’ चेकजाँचसमेत भइरहेको छ।
सुरक्षा जाँचका क्रममा शङ्कास्पद व्यक्ति भेटिएमा नियन्त्रणमा लिएर विस्तृत अनुसन्धानपछि आवश्यक प्रक्रिया पूरा गरी छाड्ने गरिएको उहाँको भनाइ छ। “संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौं,” उहाँले भन्नुभयो, “विभिन्न रुट तय गरेर एकीकृत गस्ती अभियान सञ्चालनमा छ।”
प्रहरी वरिष्ठ उपरीक्षक थापाले निर्वाचन विरोधी गतिविधि तथा निर्वाचन बिथोल्न सक्ने समूह र शक्तिबारे सूचनासङ्कलन गरेर सोहीअनुसार सुरक्षा निकाय परिचालन गरिएको स्पष्ट पार्नुभयो। निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको उहाँको भनाइ छ।









प्रतिक्रिया