काठमाडौं, १७ साउन । राहदानी विभागले सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गरे पनि ई–पासपोर्ट बनाउन सेवाग्राहीको भीड घटेको छैन। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपिएस) आवेदनका लागि राहदानी बनाउन आएका हजारौं युवाले समयमै पासपोर्ट नपाएको गुनासो गरेका छन्।
विभागले सेवा सहज बनाएको दाबी गरे पनि सेवाग्राही भने दिनौँ लाइनमा बस्न, पटक–पटक धाउन र प्राविधिक समस्याको मार खेप्न बाध्य भएका छन्। रोल्पाबाट काठमाडौं आएका एक सेवाग्राहीले एक साताभन्दा बढी समय बितिसक्दा पनि राहदानी नपाएको गुनासो गर्दै ढिलाइका कारण ईपिएस आवेदनको अन्तिम म्याद नै गुम्ने जोखिम रहेको बताएका छन्।
राहदानी विभागले भने नयाँ प्रणाली स्थिरीकरण, ईपिएस आवेदनका कारण एक्कासी बढेको चाप तथा प्राविधिक त्रुटीका कारण सेवा प्रभावित भएको स्वीकार गरेको छ। विभागका अनुसार एसएमएस प्रणालीमा समस्या, राष्ट्रिय परिचयपत्र प्रणालीसँग समन्वयमा आएको अवरोध र अत्यधिक आवेदनका कारण केही सेवाग्राहीले निर्धारित समयमा राहदानी पाउन सकेका छैनन्।
यता, रोजगारीको अवसर गुम्ने चिन्तामा रहेका युवाहरूले सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन नसक्दा अनावश्यक सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। विभागले दैनिक करिब १ हजार ५ सय राहदानी छपाइ तथा वितरण भइरहेको र अर्को सातादेखि आवेदन प्रणाली थप सहज बनाइने जनाएको छ। तर, सेवा सुधारका सरकारी दाबीबीच नागरिकले भने अझै पनि लाइन, ढिलाइ र अनिश्चितताको सामना गर्नुपरेको छ।







प्रतिक्रिया