थाइल्याण्डबाट ११ किलो गाँजासहित तीन भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं, १७ साउन । थाइल्याण्डबाट नेपाल ल्याइएको ११ किलोग्राम गाँजासहित तीन जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाले लागुऔषध तस्करीको आशंकामा यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई शनिबार राति पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको पञ्जाबस्थित लुधियानाका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा हरियाणाको करनालका २२ वर्षीय साहिल रहेका छन्।

प्रहरीका अनुसार क्याथे प्यासिफिक एयरवेजको हङकङ हुँदै काठमाडौं आएको उडानबाट झोलाभित्र लुकाएर ल्याइएको ११ किलोग्राम गाँजा बरामद गरिएको हो। प्रहरीले उनीहरूको साथबाट तीन थान पासपोर्ट र तीन थान मोबाइल फोन पनि बरामद गरेको जनाएको छ।

उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ गरिएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  १५ : १९  बजे