अध्यादेशविरुद्ध विपक्षी एकजुट, सिंहदरबारमा रणनीति बैठक

काठमाडौँ, १६ वैशाख । सरकारले अध्यादेशमार्फत कानुन ल्याउने निर्णय गरेपछि विपक्षी दलहरू आक्रामक बनेका छन् । संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढाइएको भन्दै विरोधमा विपक्षी दलहरूको संयुक्त बैठक आज बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षका नेता भीष्मराज आङ्देम्बे ले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाउनुभएको छ । बैठकमा नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका संसदीय नेताहरू सहभागी हुने जनाइएको छ ।

बैठकमा सरकारको अध्यादेश कदमको प्रतिवाद, साझा रणनीति र आगामी राजनीतिक कदमबारे छलफल हुने बताइएको छ । विपक्षी दलहरूले संसद् छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको आरोप लगाएका छन् ।

नेता आङ्देम्बेले तत्काल आवश्यकता नभएको अवस्थामा अध्यादेश ल्याउनु “बलमिच्याइँ र संसद्को अपमान” भएको टिप्पणी गर्नुभएको छ । त्यस्तै, एमाले प्रमुख सचेतक ऐन महरले सरकारको कदमलाई “संविधानमाथिको प्रहार” भन्दै आलोचना गर्नुभएको छ ।

सरकारले भने मन्त्रिपरिषद्को सिफारिसअनुसार अध्यादेश राष्ट्रपतिसमक्ष पठाइसकेको छ । रामचन्द्र पौडेल उक्त अध्यादेशबारे कानुनी परामर्शमा रहेको जनाइएको छ ।

संसद् अधिवेशन स्थगनपछि अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कदमले राजनीतिक तनाव बढाउँदै लगेको छ भने विपक्षीहरू एकजुट हुने संकेत देखिएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  ०९ : ३१  बजे