काठमाडौं, १५ साउन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुन उल्लंघन गर्ने गतिविधिले सामाजिक एकतामा असर पुग्ने भन्दै आईजीपी कार्कीले यस्ता कार्य नगर्न आग्रह गर्नुभएको हो ।
यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने भन्दै उहाँले संवेदनशील अवस्थामा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अपनाउन आग्रह गर्नुभएको छ ।
एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै कार्कीले भन्नुभएको छ, “हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन् । मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ ।”
उहाँले आपसी सम्मान, सहिष्णुता र संयमताका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गर्नुभएको छ ।







प्रतिक्रिया