काठमाडौं, १५ साउन । प्यालेस्टिनी लडाकु समूह हमास आफ्ना सबै हतियार त्याग गर्न सहमत, इजरायली सेना गाजाबाट हट्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बोर्ड अफ पिस’ योजनाको घोषणा गरेलगत्तै प्यालेस्टिनी लडाकु समूह हमासले गाजापट्टीमा आफ्ना सबै हतियार पूर्ण रूपमा त्याग गर्न सहमत भएको जनाएको छ।
एक वरिष्ठ हमास अधिकारीले गाजामा पूर्ण रूपमा निःशस्त्रीकरण गर्ने ुबोर्ड अफ पिसु को योजनामा आफूहरू सहमत भएको र छिट्टै आधिकारिक विज्ञप्तिसमेत जारी गरिने बताएको बीबीसीले जनाएको छ । यद्यपि, यस विषयमा इजरायलको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन।
राष्ट्रपति ट्रम्पले निःशस्त्रीकरणको प्रक्रिया पूरा हुँदै जाँदा इजरायली सेना गाजाबाट पछि हट्ने बताएका छन्। उनले यो सम्झौतालाई गाजा अन्ततः नयाँ प्यालेस्टिनी सरकारद्वारा सञ्चालित हुने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा वर्णन गरेको समाचारमा उल्लेख छ ।
अमेरिकाको मध्यस्थतामा अघि बढाइएको गाजा युद्धविराम योजनाको दोस्रो चरणअन्तर्गत हमासको निःशस्त्रीकरण र गाजाको पुनर्निर्माणका बुँदाहरू समावेश छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मा एक पोस्ट गर्दै भनेका छन्, यो ट्रम्पको २० सूत्रीय योजनाको कार्यान्वयनमा एक ठूलो माइलस्टोन हो। यो सम्झौता सावधानीपूर्वक तयार पारिएका विभिन्न चरणहरूमा कार्यान्वयन गरिनेछ।
उनले जसरी(जसरी निःशस्त्रीकरणको काम पूरा हुँदै जान्छ, त्यसरी नै इजरायली फौज फिर्ता हुनेछ र अन्तर्राष्ट्रिय स्थिरीकरण बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग मिलेर गाजालाई यसका बासिन्दा र छिमेकीहरूका लागि सुरक्षित बनाउने जिम्मेवारी सम्हाल्ने बताएका छन् ।
ट्रम्पले यस प्रक्रियामा मध्यस्थकर्ताको भूमिका खेल्ने इजिप्ट, कतार र टर्कीका सरकार तथा प्रतिनिधिहरूलाई धन्यवादसमेत ज्ञापन गरेका छन्।
यसैबीच, इजिप्टको सरकारी सञ्चार माध्यमलाई उद्धृत एएफपीले जनाए अनुसार युद्धविराम योजनाको दोस्रो चरणबारे छलफल गर्न कायरो (इजिप्टको राजधानी) मा गाजा मध्यस्थकर्ताहरूको एक बैठक बस्ने तयारी भइरहेको छ।
अधिकारीहरूका अनुसार यो सम्पूर्ण निःशस्त्रीकरण र सैन्यमुक्त गर्ने प्रक्रिया पूरा हुन २०० देखि ३०० दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय स्थिरीकरण बलको समग्र निगरानी एक अमेरिकी जनरलको नेतृत्वमा हुनेछ। अमेरिकी तथा ुबोर्ड अफ पिसुका अधिकारीहरूले यसलाई गाजाका लागि एक ुनयाँ शुरूआतुको रूपमा हेरेका छन्, जसले केही नयाँ र भिन्न परिणाम दिन सक्ने उनीहरूको विश्वास छ।







प्रतिक्रिया