संसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध

काठमाडौं, ४ वैशाख । संसदीय समितिको बैठकमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ। शुक्रबार विभिन्न संसदीय समितिका सभापतिहरूको चयन प्रक्रिया चलिरहेका बेला सञ्चारकर्मीलाई बैठक कक्षबाट बाहिर निकालिएको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु हुँदा पत्रकारलाई फोटो खिच्न अनुमति दिइएको थियो। त्यसपछि भने पत्रकारलाई बैठक कक्षभित्र बस्न नदिई बाहिर पठाइएको थियो। पत्रकारलाई बाहिर निकालेर समितिको बाँकी प्रक्रिया अघि बढाइएको थियो।

यस दिन अधिकांश संसदीय समितिका सभापति सर्वसम्मत रूपमा निर्वाचित भएका छन् भने दुई समितिमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी सर्वसम्मत रूपमा चयन भएका छन्।

त्यसैगरी, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत निर्वाचित भएका छन्।

सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत निर्वाचित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको थियो।

दुई समितिमा भने प्रतिस्पर्धा भएको थियो। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुगमन समितिमा रास्वपाका गणेश कार्की र नेकपाकी मदनकुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा भएकोमा कार्की निर्वाचित भएका छन्। यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी ओजश्वी शेरचन र एमालेका गुरुप्रसाद बराल बीच प्रतिस्पर्धा हुँदा शेरचन विजयी भएकी छन्।

यसअघि सभामुख डोलप्रसाद अर्यालले संसदीय मामिला पत्रकार समाजसँगको भेटमा संसद् र समितिमा रिपोर्टिङका लागि पत्रकारलाई सहज वातावरण बनाइने प्रतिबद्धता जनाउनुभएको थियो। तर, सोही दिन समितिको बैठकमा पत्रकारलाई निषेध गरिनुले पारदर्शिता र प्रेस स्वतन्त्रताबारे प्रश्न उठाएको छ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार  १६ : ५५  बजे