सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग, कप्तानगञ्ज घटनामा सरकारको ध्यानाकर्षण

काठमाडौं, १४ साउन । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति स्पष्ट पार्न तथा सच्याउन माग दोहोर्‍याएका छन् । साथै, सुनसरीको कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी सामाजिक सद्भाव कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई बोल्ने समय दिनुभएको थियो । थापाले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे थप स्पष्ट गर्नुपर्ने माग पूरा नभएकाले विरोध जारी राख्नुपरेको बताउनुभयो ।

उहाँले सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो । नागरिकको जीउधनको सुरक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

एमाले सांसद पद्माकुमारी अर्यालले पनि प्रधानमन्त्रीले दुई महिनाअघि संसद्मा सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउन माग गर्नुभयो । उहाँले सुकुमवासी समस्या समाधान, रासायनिक मलको पर्याप्त व्यवस्था तथा भारत गएका चार नेपाली नागरिक बेपत्ता भएको भनिएको विषयमा गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्यालले साउन १० गते सुनसरीमा भएको घटनामा दंगा नियन्त्रण गर्न राज्य असफल भएको आरोप लगाउनुभयो । उत्तेजना र आवेगबाट समस्या समाधान नहुने भन्दै उहाँले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभयो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कप्तानगञ्ज घटनाप्रति राज्य संवेदनशील बन्न नसकेको आरोप लगाउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सुनसरी घटनाको समाधान र सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दलले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । घटनाको दीर्घकालीन समाधान राजनीतिक रूपमा खोजिनुपर्ने उहाँको भनाइ थियो ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अझै स्पष्ट नभएको बताउनुभयो । संसद्को अभिलेखबाट समेत उक्त अभिव्यक्ति नहटाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

सुनसरीलगायत क्षेत्रमा देखिएको अशान्ति समाधानका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा सांसदहरूको जोड थियो । समस्या समाधानका लागि बल प्रयोगभन्दा संवाद र संयमतामार्फत अघि बढ्नुपर्ने उनीहरूको धारणा थियो ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १२ : ४२  बजे