सुनसरी घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने एमाले सांसद अर्यालको माग

काठमाडौं, १४ साउन । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरीमा भएको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले सुनसरीमा गोली चल्दा नागरिकको मृत्यु भएको घटनामा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गर्नुभयो ।

उहाँले यसअघि काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जवाफदेही बनाइएको प्रसंग स्मरण गराउनुभयो ।

“काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही हुनुपर्छ भन्दै थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भने आज सुनसरीमा गोली चल्दा र मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? थुनामा बस्नुपर्छ कि पर्दैन ?” उहाँले प्रश्न गर्नुभयो ।

अर्यालले देशमा दंगा र असहज परिस्थिति उत्पन्न भइरहेका बेला प्रधानमन्त्री कहाँ हुनुहुन्छ भन्दै प्रश्नसमेत गर्नुभयो । प्रधानमन्त्रीको पद सिंहदरबारमा बसेर सजाउने नभई जनतामाझ पुगेर संवाद र समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

“यो मुलुकका प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? प्रधानमन्त्रीको पद सिंहदरबारमा सजाउन बनाइएको होइन,” उहाँले भन्नुभयो, “जनताबीचमा देखिनुपर्छ । संवाद गर्नुपर्छ ।”

जनताको सुरक्षाका लागि सरकारलाई आवश्यक सहयोग गर्न एमाले तयार रहेको पनि उहाँले बताउनुभयो।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १२ : ३५  बजे