हिंसा रोक्न संवाद र सहमतिको बाटो रोज्न एमालेका अध्यक्ष ओलीको अपील

काठमाडौं, १४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बढ्दो हिंसा र तनाव तत्काल रोक्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट वर्तमान संकटको निकास खोज्न आह्वान गर्नुभएको छ ।

सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा गोली लागेर नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै ओलीले सरकारको मौनता र बल प्रयोगप्रति गम्भीर असन्तुष्टि जनाउनुभयो ।

ओलीले हिंसाबाट समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्र हुनसक्ने भन्दै उहाँले भ्रामक प्रचारको पछि नलाग्न पनि आग्रह गर्नुभयो ।

उहाँले नागरिकको जीउधनको रक्षा गर्नु तथा संवादमार्फत समस्या समाधान गर्नु सरकारको प्राथमिक दायित्व भए पनि संवेदनशील अवस्थामा सरकारले उदासीनता देखाएको आरोप लगाउनुभयो । हिंसात्मक कदम तत्काल रोक्दै अविलम्ब संवादमार्फत समाधान खोज्न उहाँले सरकारसँग माग गर्नुभयो ।

मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला राजनीतिक दलहरूले आपसी प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नुपर्ने ओलीको भनाइ छ ।

सुनसरी र सिरहामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

राष्ट्रिय हित, शान्ति र सामाजिक सद्भावका लागि राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक–सामाजिक क्षेत्रका अगुवाहरू एकजुट हुनुपर्नेमा जोड दिँदै ओलीले “संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिनेछ” भन्नुभएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १७ : ४८  बजे